(१) यस ऐन बमोजिम सङ्घ, प्रदेश वा स्थानीय तहमा
समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएको र निवृत्तभरण पाउने अवस्था भएको
कुनै कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको
अवधिभित्र सोही सूचनामा उल्लिखित शर्त बमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये नेपाल स्वास्थ्य
सेवाका कर्मचारी, व्यवस्थापिका–संसद सेवाका कर्मचारी र सम्वत्२०४९ साल कार्तिक २१
गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा साठी वर्ष उमेर ननाघ्ने गरी
र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा अन्ठाउन्न वर्ष उमेर
ननाघ्ने गरी सेवा अवधि थप गरी निवृत्तभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।
(३) उपदफा (२) बमोजिम सेवा अवधि कायम भएको कर्मचारीलाई सात वर्षको
निवृत्तभरण एकमुष्ट रुपमा स्वेच्छिक अवकाश लिँदाका बखत दिइनेछ र सो अवधि भुक्तान
भएपछि प्रचलित कानून बमोजिम निवृत्तभरण दिइनेछ ।
(४) उपदफा (१) बमोजिमको सूचना यो ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र
प्रकाशन गर्नु पर्नेछ ।